भारतीय नेपाली गजल र गजलमा सुवास

भारतीय नेपाली गजल र गजलमा सुवास


शैलेन्द्र समदर्शी
सुवास श्रेष्ठ

  पहिला गजलको कुरा

 
शैलेन्द्र समदर्शी
   इसाको सातौँ शताब्दीतिर अरबमा जन्मिएको र प्रायः चौधौँ शताब्दी लामो इतिहास बोकेको प्रेम
 
प्रणयकेन्द्रित हार्दिक एवं सुललित भावहरूका अभिव्यक्ति बुझाउने गजल सङ्गीतसित सम्बन्धित साहित्यको एउटा गेय विधा हो। शाब्दिक अर्थमा स्त्री अथवा आफ्नी प्रेमिकासित गरिने प्रेमिल वार्तालाप तथा भावार्थमा घाइते हरिणशावकले पीडामा निकालेको विक्षिप्त आर्तनाद वा चित्कार बुझाउने गजललाई कविद्वय उमर इब्न अबि रबिया र जमिल उल उधारीले इसाको सातौँ शताब्दीतिर अरबी भाषा साहित्यमा एउटा नयाँ विधाको रूपमा स्थापित गरेको इतिहास पाइन्छ। यी दुई कविद्वयले गजललाई सर्वप्रथम म्नका र मदिनामा स्थापित गरेका थिए। राजा-महाराजाहरूको प्रशस्ति र स्तुतिगानमा आधारित स्तुतिकाव्य कासिदाका केही पङ्‌क्ति अथवा हरफ प्रेम प्रणयकेन्द्रित हुन्थेजसलाई तस्बिबभनिन्छ। यसैबाट गजलको विस्तार भएको हो भन्ने विद्वान्‌हरूका मत छन्। अरबमा जन्मिएको गजलको विस्तार आज फारसी, हिन्दी, उर्दु, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनीलगायत विश्वका अन्य धेरै भाषामा भएको छ। यता, नेपाली साहित्यमा पनि गजलले प्रवेश पाएको प्रायः 135 वर्ष भइसकेको छ।


गजलको व्युत्पति र अर्थ

गजलको व्युत्पति र अर्थ सम्बन्धमा विद्वान्‌हरूमाझ मतमतान्तर पाइन्छन्। गजल शब्दको स्रोत र व्युत्पतिमूलक अर्थ के हो भन्नेबारे विद्वान्‌हरूमाझ मतैक्यता पाइँदैनन्‌। गजललाई कतिले अरबी भाषासँग, कतिले फारसी त कतिले संस्कृत भाषासँग जोडेर यसको स्रोत र व्युत्पतिमूलक अर्थ खुट्याउने कोसिस गरेका छन्‌।
1. शाब्दिक अर्थ   2. भावार्थ

1.  शाब्दिक अर्थ

गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो। ‘ग’, ‘ज’ र ‘अल’ तीनवटा अरबी शब्द मिलेर गजलको निर्माण भएको हो। ‘ग’-को अर्थ वाणी, ‘ज’-को अर्थ स्त्री’ र ‘अल’-को अर्थ को वा साथ हुन्छ। यसप्रकार संयुक्त रूपले गजलको अर्थ स्त्री वा प्रेमिकासँग गरिने वार्तालाप हुन्छ। कसैले यसको अर्थ नारीहरूका प्रेमका कुरा त कसैले प्रेयसीसँगको क्रीडा भनेका छन्‌। फारसी भाषामा गजलको अर्थ वाजनान गुफ्तगु अर्थात्‌ आइमाईसँगको कुरा भनेका छन्‌। आइमाई वा स्त्रीसँग कस्ता कुराभन्दा प्रेमिल कुरा नै हुने गर्दछ। यसर्थमा गजलको अर्थ स्त्री वा प्रेमिकासँग गरिने प्रेमिल वार्तालाप हुन्छ।


2.  भावार्थ

कति विद्वान्‌ले गजल शब्दको व्युत्पति अरबी भाषाको ‘गजाला’ शब्दबाट भएको मानेका छन्‌। अरबी शब्द गजालाको अर्थ हरिणशावक वा हरिणको बच्चा हुन्छ। यसप्रकार भावार्थअनुसार सिकारीको तिरबाट घाइते भएको हरिणशावकले निकालेको आर्तनाद वा चीत्कारलाई गजल भनिएको छ। सिकारीको काँडले घाइते भएको हरिणशावकले विक्षिप्त हृदयले गरेको विलापलाई गजल भनिएको छ। यसबाट के स्पष्ट हुन्छ भने गजल अन्तर्मनका दुःख, पीडा, विलाप, आदि पोख्ने शब्द हो। गजलकारको मनमा रहेका प्रेमभाव, एकाकी दुःख, विलाप, छटपटी, आघात, खुसी आदिका भावुक प्रस्तुति नै गजल हो। यद्यपि, आजको समयमा गजलको अर्थोन्नति भएको छ। आजको गजलले केवल प्रेम प्रणयकेन्द्रित रतिरागात्मक शृङ्गारिक भावलाई मात्र आफ्नो विषय बनाएको हुँदैन तर आम मानिसहरूसित सम्बन्धित सामाजिक, राजनैतिक र आर्थिक सरोकारका विषयहरूलाई पनि उत्तिकै प्रमुखता दिएका पाइन्छन्। यीबाहेक कति विद्वान्‌ले गजललाई संस्कृतको कज्जल शब्दसँग जोडेर हेरेको पाइन्छ।


गजलमा चाहिने कुराहरू

साहित्यका अन्य विधाको तुलनामा गजल धेरै अनुशासित र सैद्धान्तिक रूपमा कठोर विधा हो। गजलको आफ्नै शास्त्रीय नियम छ, जुन शास्त्रीय नियमकै कारण गजल साहित्यका अन्य विधाभन्दा फरक बनेको छ। गजल एउटा निश्चित संरचना र शास्त्रीय नियममा बाँधिएर लेखिनुपर्ने विधा भएकोले यसको शास्त्रीय नियमको ज्ञान गजलहरूमा हुन आवश्यक छ। असलमा शास्त्रीय नियमको ज्ञान नभई गजल लेख्न सकिँदैन।
गजलको बाह्य संरचनामा सेर, मिसरा, मतला, मकता, तखल्लुस, काफिया, रदिफ र बहर पर्दछ भने आन्तरिक संरचनामा भाव र शैली पर्दछ। शैलीअन्तर्गत गजलमा सरलता, संक्षिप्तता, नवीनता र प्रभावकारिता पर्दछ।

सेर

गजलको प्रत्येक दुई पङ्‌‌क्तिलाई सेर भनिन्छ। अर्थात्‌ दुई पङ्‌‌क्ति मिलेर एउटा सेरको निर्माण हुन्छ। सेर अरबी शब्द हो। अरबी भाषा पुलिङ्गी शब्द सेरको अर्थ ‘कपाल’ वा ‘केस’ हो। गजल संरचनामा यो प्रमुख तत्त्वको रूपमा स्थापित छ। सेर आफैमा पूर्ण र स्वतन्त्र तत्त्व पनि हो। सेरकै आधारमा गजल ‘गजल मुसलसल’ र ‘गजल गैरमुसलसल’ गरी दुई प्रकारका हुन्छन्‌। सबै सेरमा एउटै विषयवस्तु भएको गजललाई ‘गजल मुसलसल’ तथा भिन्नाभिन्नै सेरमा भिन्नाभिन्नै विषयवस्तु भएको गजललाई ‘गैरमुसलसल गजल’ भनिन्छ। गजलमा प्रत्येक सेर स्वतन्त्र र पूर्ण भए पनि परस्परमा सम्बन्धित र तादात्म्य हुन्छ। सेरका उदाहरण हेरौँ-

1.एकनासले बित्छ रात मेरो
  छोडेदेखि उसले साथ मेरो।
-दिवस मोहरा


मिसरा

गजलको सेरमा दुईवटा हरफ हुन्छन्‌, ती हरफलाई मिसरा भनिन्छ। यो अरबी शब्द हो। गजलको पहिलो सेरमा प्रायः काफिया र रदिफयुक्त (रदिफ नहुन पनि सक्छ) मिसरा रहेको हुन्छ। यसरी नै गजलको दोस्रो, तेस्रो, चौँथो, पाँचौँ आदि सेरको दोस्रो पङ्‌‌क्ति वा हरफ (मिसरा-ए-सानी) -मा पूर्ववत्‌ अनुप्रास वा काफिया र रदिफ (यदि गजलकारले गजलमा रदिफ प्रयोग गरेका छन्‌भने) -को प्रयोग अनिवार्य हुन्छ। ‘मिसरा-ए-उला’ र ‘मिसरा-ए-सानी’ गरी गजलमा दुई प्रकारका मिसरा हुन्छन्‌। गजलको सेरको पहिलो हरफलाई ‘मिसरा-ए-उला’ र सेरको दोस्रो हरफलाई ‘मिसरा-ए-सानी’ भनिन्छ। गजलमा मिसरा-ए-उलाको कार्य विषयको कौतुहलतापूर्ण र अस्पष्ट उठान गर्नु हो भने मिसरा-ए-सानीको कार्य मिसरा-ए-उलामा उठान गरिएको कौतुहलतापूर्ण र अस्पष्ट भावलाई स्पष्ट र प्रभावकारी ढङ्गमा व्यक्त गर्नु हो। उदाहरण हेरौँ-
आङमा न्यानो घाम छैन  - मिसरा-ए-उला
आफैले टेकेको डाम छैन।  -मिसरा-ए-सानी
-अनिलकुमार छेत्री


मतला

गजलको पहिलो सेरलाई मतला भनिन्छ। अरबी भाषाको पुलिङ्गी शब्द मतलाले सुरु ‘हुनु’ वा ‘आरम्भ’ भन्ने बुझिन्छ। यसले गजललाई श्रुतिमधुर र सम्प्रेष्य बनाउने काम गर्दछ। मतलाका दुवै मिसरामा काफिया र रदिफ (गजलकारले गजलमा रदिफको प्रयोग गर्न चाहे) -को प्रयोग हुन्छ। कति विद्वान्‌ले गजलमा मतलाको उपस्थितिलाई अनिवार्य माने पनि कतिले यसलाई अनिवार्य नमानेर आवश्यक ठानेका छन्‌। मतलामा गजलको भाव केन्द्रित रहने हुनाले यसले सम्पूर्ण गजलमा महत्त्वपूर्ण भूमिका खेल्दछ। गजलमा एकभन्दा धेरै मतला हुनसक्छन्‌। एकभन्दा बढी मतला भएको गजलमा पहिलो मतलालाई ‘मतला-ए-उला’, दोस्रो ‘मतला-ए-सानी’ भनिन्छ। नरेश नदिमले ‘उर्दु कविता र छन्दशास्त्र’ -मा दुईवटाभन्दा धेरै मतला हुनसक्ने बताउँदै तेस्रोलाई ‘मतला-ए-सोम’ र चौथोलाई ‘मतला-ए-चहारम’ भनिने मत अघि सारेका छन्‌। 
गजलकार मनु ब्राजाकीले पनि गजलमा एकभन्दा बढी मतला हुने बताउँदै पहिलोलाई ‘मतला-ए-उला’ र त्यसपछिका सबै मतला ‘मतला-ए-सानी’ नै हुने बताएका छन्‌। ब्राजाकीले मतलाका दुवै मिसरामा अनुप्रास वा काफियाको उपस्थितिलाई अपवाद माने पनि गजलको संरचनामा मतलाका दुवै मिसरा अनुप्रास वा काफियाको उपस्थिति उपयुक्त मात्र नभएर गजल गेय विधा भएकोले लय सिर्जनाका लागि पनि यसको उपस्थिति महत्त्वपूर्ण ठहर्दछ। मतलाको उदाहरण हेरौँ-

उनलाई चिल्दा पोल्दा आइया आत्था मानिन रे
उनका सारा दर्द पीडा व्यथा मानिन रे।
-लीलाबहादुर छेत्री



मकता

गजलको अन्तिम सेरलाई मकता भनिन्छ। अरबी शब्द मकताको अर्थ ‘काटिएको’, ‘टुङ्गिएको’ अथवा ‘समाप्त भएको’ हो भन्ने बुझिन्छ। यसलाई हिन्दीमा ‘अन्तिका’ पनि भनिन्छ। गजलमा उठान गरिएको विषयवस्तु वा भाव मकता टुङ्गिँदछ। गजलका अन्य सेरहरूको तुलनामा मकता शक्तिशाली हुनुपर्ने मत कतिपय विद्वान्‌ले अघि सारेका छन्‌। मकता विषयमा कति विद्वान्‌माझ मतभेद पनि पाइन्छ। कतिले तखल्लुसयुक्त सेरलाई मकता मानेका छन्‌भने कतिले मकता हुन तखल्लुसको उपस्थिति अनिवार्य मानेका छैनन्‌। सबै गजलकारले तखल्लुसको प्रयोग गजलको अन्तिम सेर अर्थात्‌ मकतामा गर्छन्‌ भन्ने पनि छैन। धेरै गजलकारले यसको प्रयोग गजलको दोस्रो, तेस्रो, चौथो आदि सेरमा पनि गरेको पाइन्छ। कतिले त यसको प्रयोग गजलको पहिलो सेर अर्थात्‌ मतलामा समेत गरेका पाइन्छन्। उदाहरणार्थ गजलकार मनु ब्राजाकीकृत गजल सङ्ग्रह ‘काँडाका फूलहरू’-लाई अघि राख्न सकिन्छ।
मकता अत्यन्त महत्त्वपूर्ण र सर्वश्रेष्ठ हुने भएकोले र यसमा गजलकारले आफ्नो व्यक्तिगत भावाभिव्यक्त गर्ने हुनाले अन्य सेरको सट्टामा मकतामा तखल्लुसको प्रयोग भए राम्रो मानिन्छ। कति गजलकारले मकतामा तखल्लुसको प्रयोग यति कुशलतापूर्वक गर्दछन्‌, यो विषयको एक अङ्ग बनेर सेरमा सौन्दर्य मात्र उत्पन्न नगरेर यसको सार्थक प्रयोगले गजलमा चमत्कार उत्पन्न गर्दछ।

तखल्लुसयु्नत मकता-
तिम्रो मेरो विरहकाल अझ लम्बिएछ
हो न हो यसमा ‘प्रेम’ ईश्वरको ’नि हात छ।
-क्षेत्र ‘प्रेम’ मुखिया

तखल्लुसरहित मकता
जङ्गलको वास छ, हताशा निराशा छ
कहिले नसकिने कस्तो वनवास छ।
-खुसेन्द्र राई

तखल्लुस

यदि गजलकारले आफ्नो नाम वा उपनाम गजलमा प्रयोग गरे, त्यसलाई तखल्लुस भनिन्छ। यो गजल संरचनाका लागि अनिवार्य तत्त्व नभएर एउटा प्रचलन मात्र हो। यद्यपि, यसको सार्थक उपस्थितिले गजललाई प्रभावकारी र चमत्कारी तुल्याउँछ। प्रायःजसो गजलकारले गजलको अन्तिम सेर अर्थात्‌ मकतामा तखल्लुसको प्रयोग गर्ने चलन भए पनि कति गजलकारले यसको प्रयोग अन्य सेरमा पनि गरेको पाइन्छ। गजलमा तखल्लुसको सफलता-असफलता गजलकारको नाम उपनाम र क्षमतामाथि निर्भर गर्दछ।
कति गजलकारले प्रयोग गरेको तखल्लुस विषयको एक अभिन्न अङ्ग बनेर सौन्दर्य मात्र नथपेर गजललाई प्रभावकारी र चमत्कारी पनि बनाएको छ भने कति गजलकारले प्रयोग गरेको तखल्लुस केवल रहर र आत्मरतिको विषय मात्र बनेको छ। गजलमा प्रयोग गरिएका तखल्लुस द्वयार्थक भए राम्रो मानिन्छ। अर्थात्‌ गजलमा प्रयोग गरिएको तखल्लुसले गजलकारलाई चिनाउनका साथै लाक्षणिक रूपमा अर्को अर्थ दिनसके राम्रो मानिन्छ।

मलाई था छ मेरो ‘अस्तित्व’ छौ तिमी नै
सबैले भन्छन्‌मेरो गजलमा छ सार तिम्रो।
-शेखर अस्तित्व


काफिया

काफिया भनेको अनुप्रास हो। रदिफभन्दा पूर्ववर्ती तुकान्त शब्द नै काफिया हो। यो अरबी शब्द हो। अरबी भाषाको पुलिङ्गी काफिया शब्दको अर्थ ‘पछि-पछि आउने’ वा ‘बारम्बर आउने’ भन्ने बुझिन्छ। गजलमा काफियाको उपस्थिति अनिवार्य मानिन्छ। यसको अनुपस्थितिमा गजल ‘गजल’ बन्दैन। काफिया गजलको मुटु पनि हो। गजलमा गजलकारले काफियाको जति सफलतापूर्वक प्रयोग गर्छन्‌, गजलले उति उत्कृष्टता प्राप्त गर्नका साथै जीवन्त र प्रभावकारी बन्दछ। यसको प्रयोग मतला अर्थात्‌गजलको पहिलो सेरका दुवै मिसरा र अन्य सेरको मिसरा-ए-सानीमा हुँदछ। वास्तवमा गजलको भाव काफियामा केन्द्रित रहन्छ। रोहीश्व अस्थानाले ‘हिन्दी गजल उद्‌भव और विकास’ -मा काफियाको तात्पर्य तुक बताउँदै ‘गजलमा रदिफभन्दा अघि जुन शब्द आउँछ, त्यो नै काफिया हो’ भनेका छन्‌।
गजलमा मूलतः पूर्ण र आंशिक गरी दुई प्रकारका काफियाको प्रयोग पाइन्छ। यद्यपि, केही गजलमा मिलित, मिश्रित र एकाक्षरीय काफियाको पनि प्रयोग पाइन्छ। निम्न रेखाङ्कित शब्द काफिया हुन्‌-

आज म आफ्नै घरबाट हारे
आज म आफ्नै डरबाट हारे।
-बलराम सापकोटा


रदिफ

रदिफ काफियाको पछि आउने शब्द वा शब्दसमूह हो। यो अरबी भाषाको स्त्रीलिङ्गी‌ रदिफ शब्दको अर्थ ‘पछि आउने वा लाग्ने’ भन्ने बुझिन्छ। रदिफ गजलको मतलाका दुवै मिसरा र त्यसपछिका अन्य सेरको मिसरा-ए-सानीमा आइरहन्छ वा दोहोरिन्छ। रदिफ गजलको अनिवार्य घटक होइन। यसको प्रयोग ऐच्छिक हो, अनिवार्य होइन। यद्यपि, रदिफको उपस्थितिले गजलमा सौन्दर्य मात्र नथपेर यसलाई गेयात्मक, लयात्मक र प्रभावकारी बनाउने काम गर्दछ। गजलमा रदिफको प्रयोग एक अक्षरदेखि एउटा पुरै वाक्यको रूपमा गरिएको पाइन्छ। रदिफको आधारमा गजल दुई प्रकारका हुन्छन्‌। 1. मुरद्दफ गजल 2. गैरमुरद्दफ गजल।


मुरद्दफ गजल

जुन गजलमा रदिफको प्रयोग पाइन्छ, त्यस्ता गजललाई मुरद्दफ गजल भनिन्छ। रदिफको प्रयोग भएको गजल सौन्दर्यपूर्ण, लयात्मक, गेयात्मक, श्रुतिमधुर र सङ्गीतचेतनाको दृष्टिले सश्नत र महत्त्वपूर्ण मानिन्छ।


गैरमुरद्दफ गजल

जुन गजलमा रदिफको प्रयोग पाइँदैन, त्यस प्रकारको गजललाई गैरमुरद्दफ गजल भनिन्छ। गैरमुरद्दफ गजलमा काफियाको मात्र प्रयोग पाइन्छ। मुरद्दफ गजलको तुलनामा गैरमुरद्दफ गजल कम गेयात्मक र श्रुतिमधुर लाग्दछ। निम्नलिखित रेखाङ्कित शब्द रदिफ हुन्‌-

रहरहरू जिउँदै मरेपछि बेहोश भएँ
सपना दोधारमा परेपछि बेहोश भएँ।
-प्रवीण राई ‘प्रयास’

बहर

बहर भनेको छन्द हो। अरबी भाषाको स्त्रीलिङ्गी बहर शब्दले गजलमा प्रयुक्त शास्त्रीय छन्दलाई बुझाउँछ। गजल पद्य विधा भएकोले बहरको ठुलो महत्त्व मात्र नभएर यसको प्रयोग एक प्रकारले अनिवार्य पनि छ। संस्कृत, हिन्दी, नेपालीमा झैँ उर्दु र फारसी कवितामा पनि विविध शास्त्रीय छन्दहरूको प्रयोग पाइन्छ, जसलाई उर्दु पिङ्गलशास्त्रमा बहर भनिन्छ। उर्दु साहित्यमा वर्ण र मात्रामा आधारित धेरै बहर छन्‌, जसको सामिप्य संस्कृत भाषाका शास्त्रीय छन्दहरूसँग छ। फारसी गजलमा झैँ उर्दु गजल निर्माणका लागि पचासथरिका छन्द छन्‌, जसलाई बहर भनिन्छन्। यद्यपि, ती पचासथरिका बहरमध्ये बहुचर्चित उन्नाइसथरिका बहर मात्र प्रयोगमा छन्‌।
उर्दु-फारसी गजलमा बहर अर्कानबाट बन्दछ। अर्कान अरबी भाषाको पुलिङ्गी शब्द हो। यो रुक्नहरूको बहुवचन हो, अर्थात्‌ रुक्नहरूको समूह नै अर्कान हो। रुक्न एकवचन हो। रुक्न पनि अरबी भाषाकै पुलिङ्गी शब्द हो। रुक्न बहर निर्माण हुने शब्द वा पद हो। यसैको योगबाट बहरको निर्माण हुन्छ। उर्दु-फारसी गजलका लागि आवश्यक रुक्न (बहर निर्माणका लागि आवश्यक गण) आठ प्रकारका छन्‌। ती हुन्‌
1. फाइलुन =    SIS
 2. फाइलातुन =    SISS
3. फउलुन =    ISS 
4. मफउलातु =   SSSI
5. मफाइलुन =   ISSS
6. मफाइलतुन =   ISIIS
7. मस्तफइलुन =  SSIS 
8. मतफइलुन =  IISIS

यी मूल आठवटा रुक्नबाहेक परिवर्तित केही रुक्न पनि पाइन्छन्। यी रुक्नहरूलाई जिहाफ भनिन्छ। कृष्णहरि बरालले ‘गजल सिद्धान्त र परम्परा’-मा 13 वटा रुक्न देखाएका छन्‌। नेपाली गजल उत्थानका लागि स्थापित अनाममण्डलीद्वारा प्रकाशित गजल समालोचना सङ्ग्रह ‘नेपाली गजलको विगत र वर्तमान’-मा प्रकाशित शास्त्रीयता शीर्षक लेखमा देवी नेपालले यसको सङ्ख्या 17 बताएका छन्‌। गजल निर्माणमा प्रयोग हुने बहरलाई तीन भागमा बाँड़िएका छन्‌। ती हुन्‌-
1. मुफरद बहर वा मूल छन्द
2. मुरक्कब बहर वा मिश्रित छन्द
3. मुजाहिफ बहर वा परिवर्तित छन्द

मुफरद बहर वा मूल छन्द

एउटै रुक्नको आवृत्तिबाट बनिने बहरलाई ‘मुफरद बहर’ भनिन्छ्। मुफरद बहर सात प्रकारका हुन्छन्‌। ती हुन्‌ 1. मुतकारिब 2. कामिल 3. हजज  4. रमल 5. मुतदारिक 6. वारिफ 7. रमल।

मुर्नकब बहर वा मिश्रित छन्द

एकभन्दा अधिक रुक्नको योगबाट बनेको बहरलाई ‘मुर्नकब बहर’ वा ‘मिश्रित छन्द’ भनिन्छ। यो बहर 12 प्रकारका हुन्छन्‌। ती हुन्‌ 1. मुजास 2. मुसरहे. 3 खफिफ  4. वसित  5. मुसाकिल 6. जदिद 7. सरइ 8. करिब 9. मुनताजीव 10. मदिद 11. मुजारे 12. तविल।

मुजाहिफ बहर वा परिवर्तित छन्द

मूल छन्दलाई परिवर्तन गरेर अर्थात्‌ मूल छन्दलाई तोडमोड गरी जिहाफ प्रक्रियाबाट बनिएको बहरलाई ‘मुजाहिफ बहर’ वा ‘परिवर्तित छन्द’ भनिन्छ। मुजाहिफ बहर मूल रुक्नहरूबाट परिवर्तन भएका रुक्नहरूको मिश्रणबाट निर्माण हुँदछ।

स्वनिर्मित वा स्रष्टा निर्मित लय

गजल एउटा गेयात्मक र लयात्मक विधा भएकोले यसलाई लयबाट पृथक राख्न सकिँदैन। गजल सङ्गीतसित सम्बन्धित विधा भएकोले यसको आफ्नै विशिष्ट लय छ। यो आफैमा एउटा नियमबद्ध र अनुशासित विधा पनि हो। गजलमा बहरको प्रयोग एकप्रकारले अनिवार्य भए पनि उर्दु र फारसीका केही गजलकारले झैँ नेपाली गजलकारहरूले पनि अक्षरगत एकरूपता र मात्रागत समानताको आधारित स्वनिर्मित वा स्रष्टा निर्मित लयको प्रयोग गरी गजल लेख्दै आएका छन्‌। स्वनिर्मित लयको सचेत अनुशासित र कुशल प्रयोग गरेर पनि उच्चकोटिका गजलहरू लेख्न सकिन्छन् र ती गजल बहरमा लेखिएका गजलभन्दा कम राम्रो हुँदैनन् भन्ने उदाहरण उर्दू, हिन्दी र नेपालीका केही गजलले दिएका छन्‌।

गजलमा आन्तरिक संरचनाको महत्त्व

गजलमा बाह्य संरचनासँगै यसको आन्तरिक पक्षको महत्त्व पनि धेरै छ। केवल बाह्य संरचनाको योग मात्र गजल होइन। एउटा सफल गजल लेख्नका लागि बाह्य संरचनासँगै आन्तरिक संरचनाको सार्थक प्रयोग महत्त्वपूर्ण ठहर्दछ। गजलको बाह्य संरचनामा सेर, मिसरा, काफिया, रदिफ, तखल्लुस र बहर आदि पर्दछन्‌भने आन्तरिक संरचनामा भाव र शैली, शैलीअन्तर्गत सरलता, सूत्रात्मकता नवीनता र प्रभावकारिता पर्दछ। उर्दुका महाकवि एवं प्रसिद्ध गजलकार मिर्जा गालिबले ‘इवारत’ (भाव वा सार तत्त्व), ‘इसारत’ (बिम्ब, प्रतीक वा सङ्केत) र ‘अदा’ (शिल्प वा कला) -लाई गजलको आन्तरिक शक्तिको रूपमा व्याख्या गरेका छन्‌। गजलमा उठान गरेका भावलाई सूत्रात्मक रूपमा बिम्ब, प्रतीक र अलङ्कारको माध्यमद्वारा कलात्मक र सटिक अभिव्यक्ति दिनु नै गजलको आन्तरिक संरचनाको ध्येय हो। भाव गाम्भीर्य र शिल्प-शैलीगत चमत्कारिताले गजललाई जीवन्तता प्रदान गर्दछ। गजल लेख्दा यसको बाह्य र आन्तरिक दुवै संरचनालाई उत्तिकै ध्यान दिनु आवश्यक छ। कतिपय गजलविज्ञहरूले गजलको बाह्य संरचनालाई ‘अस्थिपञ्चर’ र आन्तरिक संरचनालाई ‘प्राण’ मानेका छन्‌। यसबाट पनि गजलको आन्तरिक संरचनाको महत्त्व स्पष्ट हुन्छ।

भाव

भाव गजलको महत्त्वपूर्ण तत्त्व हो। साहित्यका सबै विधाको सृजनामा भावले महत्त्वपूर्ण भूमिका खेलेझैँ गजलमा पनि यसको उपस्थिति महत्त्वपूर्ण छ। भावबिना साहित्य सृजना गर्न सकिँदैन। गजल हार्दिक र कोमल विधा भएकोले यसको भूमिका अझ महत्त्वपूर्ण छ। गजलमा निहित कुरा नै भाव हो। गजलको शाब्दिक अर्थ र भावार्थले यसको भाव प्रेम प्रणयकेन्द्रित हुने भए पनि आधुनिक गजलमा आएको भावगत विविधताका कारण यसले सामाजिक, आर्थिक र राजनैतिक सरोकारका भावहरूलाई पनि उत्तिकै महत्त्व दिएर उठान गरेको पाइन्छ।


शैली

गजलमा उठान गरेको भावलाई अभिव्यक्ति गर्ने कौशल नै शैली हो। यो गजलको महत्त्वपूर्ण तत्त्व हो। शैलीको चमत्कारिताले गजल सशक्त बन्दछ। गजलमा सोझो र वर्णात्मक शैली हुनुहुँदैन। यसको शैली व्यञ्जनात्मक र लाक्षणिक हुनुपर्छ। सरल र सरस शब्दविन्यास, उक्तिवैचित्र्य, व्यञ्जनात्मक र लाक्षणिक अभिव्यक्ति गजलमा हुनुपर्दछ। राम्रो शैली लेखिएको गजलले श्रोता-पाठकहरूमा प्रभाव पार्दछ।
गजलमा बाह्य संरचनाको सफल प्रयोग हुँदैन, आन्तरिक संरचनाको पनि सार्थक र सफल प्रयोग हुनुपर्दछ। दुवैको उचित र सार्थक प्रयोगले गजल सशक्त र उत्कृष्ट बन्दछ। यदि गजलको आन्तरिक पक्ष फ्यातुलो भए गजल प्रभावहीन बन्दछ। गजल सोझो हुनुहुँदैन। न कि नारा हुनुपर्छ, गजल। गजल लाक्षणिक र व्यञ्जनात्मक हुनुपर्छ। गजल उक्तिवैचित्र्य तीक्ष्ण अभिव्यक्ति र प्रभावकारी हुनुपर्छ। विषयलाई सोझै नभनेर भनाइलाई नारा नबनाएर बिम्ब, प्रतीकको माध्यमद्वारा लालित्यपूर्ण ढङ्गमा भावाभिव्यक्ति गरिएको हुनुपर्छ। 
एकजना गजलकारले गजल लेख्दा गजलको बाह्य संरचनासँगै भाव र शिल्पलाई पनि ध्यान दिनुपर्छ। व्याख्यापूर्ण र सोझो अभिव्यक्तिले गजललाई रुखो बनाइदिन्छ। गजल लेख्दा बाह्य र आन्तरिक संरचनालाई राम्ररी ख्याल गरिनुपर्छ। बाह्य संरचनालाई मात्र ध्यान दिएर आन्तरिक संरचनालाई बेवास्ता गरी गजल लेखे, त्यो गजल ‘गजल’ बनिँदैन।

भारतमा नेपाली गजल

इसाको सातौँ शताब्दीमा जन्मिएको गजलको विस्तार भारतमा तेह्रौँ शताब्दीमा भएको हो। भारतमा मुसलमान आक्रमणकारीहरूले भित्र्याएको इस्लामी प्रभावसँगै गजलले पनि आफ्नो प्रभाव विस्तार गरेको पाइन्छ। धेरै अन्वेषकहरूले यसै कुरालाई स्विकारेका छन्‌। सोह्रौँ शताब्दीमा पहिलो मुगल बादशाह बाबरले भारतमा मुगल साम्राज्यको जग बसाल्नअघि दिल्लीको दरबारी भाषा तुर्की र अफगानी थियो। तर बाबरले दिल्लीमा मुगल साम्राज्यको जग बसालेपछि यी दुई भाषाको ठाउँमा फारसी भाषा दरबारी भाषा बन्यो। यस समयसम्म अरबी भाषाबाट फारसी भाषामा गजलको विस्तार भइसकेको थियो। यो भाषा दिल्लीको दरबारी भाषा भएपछि मुगल दरबारमा गजल गायनसँगै फारसी साहित्यकारले गजलको लेखनारम्भ गरेको अन्वेषकहरूका मत छन्। तत्कालीन समयका प्रसिद्ध फारसी गजलकार अमिर खुसरोले धेरै गजलले रचेका थिए। भारतीय भाषाका पहिलो गजलकार भने सन्त कवीर दासलाई मानिन्छ। उनले खडीबोली वा हिन्दीको प्राचीनतम्‌ रूप साधुकडी भाषामा गजल लेखेको जानकारी पाइन्छ। वास्तवमा अरबी भाषाबाट फारसी भाषामा विस्तार भएको गजलले उर्दुमा भन्दा पहिला हिन्दीमा प्रवेश पाएको हो। फारसीबाट हिन्दीमा प्रवेशिएपछि गजल केहीपछि उर्दुमा विस्तार भएको छ। यद्यपि, भाषिक मिठासको कारण गजलले उर्दुमा जुन उच्चता पाएको छ, त्यसको प्रभावकारिताले यो विश्वमै लोकप्रिय बनेको छ। 

      नेपाली साहित्यमा गजललाई भित्र्याउने श्रेय मोतीराम भट्टलाई छ। अध्ययनका लागि काशीमा बस्दा हिन्दी र उर्दु गजलको तासिर (प्रभावकारिता) -बाट प्रभावित ठिट्यौले मोतीराम भट्टले विं.सं. 1940 -को पूर्वार्द्धमा अरबी गजललाई नेपाली साहित्यमा नौलो विधाको रूपमा भित्र्याएको थाह लाग्दछ। भट्टले गजललाई नेपाली साहित्यमा भित्र्याउने काम मात्र गरेनन्‌ अपितु मोतीमण्डलीमार्फत तत्कालीन समयमा चर्चित र स्थापित पनि गरे।
    नेपाली गजलका प्रणेता मोतीराम भट्टले आफ्ना धेरै गजल भारतभूमिमा नै बसेर लेखेको थाह लाग्दछ। अध्ययनका लागि काशी आएका भट्टले बनारस बस्दा हिन्दी र उर्दु भाषा पनि सिकेका थिए। यी दुई भाषामा लेखिएका गजलको प्रभावकारिताबाट प्रभावित मोतीराम भट्टले अध्ययनकालमै अरबी गजललाई नेपाली भाषा साहित्यमा प्रतिष्ठापित गरेका थिए। यद्यपि, भारतीय नेपाली साहित्यमा भने यसको विस्तार र लेखन नेपालको तुलनामा धेरै ओझेल परेको छ। भारतीय नेपाली साहित्यमा सक्रिय गजल लेखनको इतिहास उति लामो छैन। पाद्री गङ्गाप्रसाद प्रधानको सम्पादनमा प्रकाशित गोर्खे खबरकागतमा प्रकाशित पारसमणि प्रधानको ‘गजल’ (अक्टोबर 1916) शीर्षक रचनालाई रेखाङ्कित गरी समय निर्धारण गर्ने हो भने भारतीय नेपाली गजलले 100 वर्षको यात्रा हिँड़िसकेको छ। यद्यपि, पछिल्लो 22-23 वर्ष यता मात्र भारतीय नेपाली गजल लेखनले गति पक्रेको हो। यो समयावधिदेखि यता नै गजल लेखिरहेका स्रष्टाहरू गजलको विधि विधान र शास्त्रीयताप्रति सचेत देखिएका हुन्‌। 
     भारतीय नेपाली साहित्यमा सिद्धान्तमा बाँधिएर, शास्त्रीयतालाई अप्नाएर गम्भीरतापूर्वक र निरन्तर गजल लेखिन थालेको त अझ 16-17 वर्ष मात्र भएको छ। यसभन्दा अघि गजल नाममा फुटकर रचनाहरू प्रकाशित भएको उल्लेख भए पनि एक-दुई रचनालाई छोडेर अधिकतर ती रचनाहरू ‘गजल’ नभएर गीत अथवा लयबद्ध कविता भएको पाइन्छ।
     आजसम्म सञ्जीव छेत्री र सन्तोष गुप्ताको संयुक्त गजल-गीत सङ्ग्रह तरल मुटुहरू (सन्‌ 2001), खुसेन्द्र राईका मेरा एकाउन्न गजलहरू (सन्‌2005) र जिन्दगी ए ! जिन्दगी (2012), गोविन्द शाण्डिल्यका गजल गान्धार (2006) र मृगतृष्णा (2011), असीम सागरका जून पोखिएको रात (2007) र अस्तित्वका आवाजहरू (2008), भविलाल लामिछानेका दुई नज्म/केही गजल (2008), वीरेन्द्र खडका, सुवास श्रेष्ठ र अनिलकुमार छेत्रीको संयुक्त गजल-जल (2008), वीरेन्द्र खडका र सुवास श्रेष्ठको संयुक्त गजल-दीप (2009), गोविन्दसिंह घतानी उर्फ गोविन्देका गोविन्देका गजलहरू (2008) र गोविन्देका 108 गजल (2015), लीलाबहादुर छेत्री, बलराम सापकोटा र बुद्ध राईको संयुक्त गजल महक (2009), छुदेन काविमोको केही घाउ केही मलम (2010), दीपक ठटाल ‘जलन’ -को गजल कानन्‌ (2010), सुवास श्रेष्ठका समुन्द्र रोएको साँझ (2010), तिमी नै भनन (श्रावण 2069), बाल गजलसङ्ग्रह, फूलबारी (2010) र रानीचरी (2013), अरुण साम्पाङ र सुरज सुब्बाको संयुक्त कालो गुलाब (2010), धीरेन सङ्घर्षको यो व्यथा (2009) र मनोराग (2009), मिलन बान्तवाको मनचरी (2010), कमल रेग्मीका ऋतुगीत (2010) र कमलकोठी (2011), शैलेन्द्र समदर्शीको बाल गजल सङ्ग्रह सुरुआत (2010) कर्ण विरहको भकानिएका भावनाहरू (2010), निर्दोषिका तामाङको स्मृतिका सौगातहरू (2011), स्वर्णिम लिम्बूको पहिलो किरण (20120, धीरेन सङ्ग्रह र बलराम राईको संयुक्त मनको मझेरीमा (2012), महेश दाहालको भुलेर आफैलाई (2013), अर्पण राईको पतझडका पातहरू (2014), कृष्ण पी. ठटालको मनको दह (2014), क्षेत्र ‘प्रेम’ मुखियाको अनाकृत मर्म (2015), दिलमान राई ‘चोट’ -को गजल अञ्जली (2016) तथा शैलेन्द्र समदर्शीको गजल समालोचना सङ्ग्रह गजल : सिद्धान्त र सिर्जनावलोकन (2010) प्रकाशित छन्‌।


  भारतीय नेपाली गजल लेखनको इतिहास छोटै भए पनि यसको भविष्य भने उज्यालो देखिन्छ। गजल लेखनप्रति युवा सर्जकहरूको प्रतिबद्धताले भारतीय नेपाली गजलको उज्ज्वल भविष्यप्रति इङ्गित गरेको छ। इतिहास छोटै भए पनि भारतीय नेपाली गजलमा भावगत विविधता, शिल्प-शैलीगत मौलिकता पाइन्छ।

भारतीय नेपाली गजलको परम्परा र विकासक्रम

    पारसमणि प्रधानलिखित गजल शीर्षक रचनाबाट भारतीय नेपाली गजलको परम्परा थालिएको मानिन्छ। पारसमणि प्रधानको गजल शीर्षक यो रचना पाद्री गङ्गाप्रसाद प्रधानको सम्पादनमा प्रकाशित गोर्खे खबरकागतमा अक्टोबर 1916 -मा प्रकाशित भएको थियो। यद्यपि, यो गजल शीर्षक रचना गजलको नियमानुसार परेको छैन। तर असचेत रूपमा गजलको तोक दिएको यो रचनामार्फत नै भारतीय नेपाली साहित्यमा पहिलोपटक ‘गजल’ भित्रिएको हो। यसै गजल शीर्षक रचनालाई भारतीय नेपाली गजल लेखनको माइलस्टोन हामी मान्न सक्छौँ। नेपाली गजलका प्रणेता मोतीराम भट्टले आफ्ना धेरैजसो गजल काशी बस्दा लेखेको थाहा लागे पनि तत्कालीन समयमा नेपाली गजल लेखनको प्रभाव भारतीय नेपाली स्रष्टाहरूमा परेको देखिँदैन। धेरैपछि शम्भुप्रसाद ढुङ्गेलको गजल लेखनको प्रभावबाट प्रभावित बनेका पारसमणि प्रधानले नेपाली साहित्यमा पहिलोपटक गजल लेख्ने प्रचेष्टा गरेका थिए।

       भारतीय नेपाली गजलको स्वरूप, प्रवृत्ति र विकासक्रमलाई आधार मानेर यसलाई निम्न दुई चरणमा विभाजन गर्न सकिन्छ। 
1. पहिलो चरण अर्थात्‌ प्रारम्भिक काल (सन्‌1916 -देखि 2000 सम्म)
2. दोस्रो चरण अर्थात्‌ विकासकाल (सन्‌2000 -देखि हालसम्म)

पहिलो चरण अर्थात्‌ प्रारम्भिक काल (सन्‌1916 -देखि 2000)

सन्‌1916 -देखि 2000 सम्मको समयावधिलाई भारतीय नेपाली गजलको पहिलो चरण अर्थात्‌ प्रारम्भिक काल मान्न सकिन्छ। यो 84 वर्ष लामो समयावधिमा कुनै गजल सङ्ग्रह प्रकाशित भएको पाइँदैन। केवल फुटकर रचनाहरू मात्र प्रकाशित भएको पाइन्छ। यो भारतीय नेपाली गजलको प्रारम्भिक र आभ्यासिक चरण भएकोले यस चरणका अधिकतर गजल बाह्य र आन्तरिक संरचनाको दृष्टिले कमजोर भेटिन्छन्‌। यस चरणमा प्रकाशित धेरैजसो गजल गजलको शास्त्रीय नियमानुसार परेको देखिँदैन। बहादुरसिंह बराल यस चरणमा गजलको विधि विधान र शास्त्रीयतालाई सकेसम्म ख्याल गरी सबैभन्दा धेरै गजल लेख्ने गजलकार हुन्‌। बरालबाहेक पारसमणि प्रधान, दुर्गा मल्ल, मित्रसेन थापा, मैतराम, गङ्गावती, शमसेर सिंह यस चरणका गजलकार हुन्‌। ‘बरालको आँशु’-मा पवित्रदेवी र दिलीपका गजलहरू पनि सङ्कलित छन्‌।
       दिवाकर प्रधानले नोर्देन रूम्बा, राम उपमन्यू, अजित बस्नेत, अवीर खालिङ र मुन्ना छेत्रीले पनि गजल लेखेका उल्लेख गरेका छन्‌। पहिलो चरणको उत्तरार्द्ध अथवा नब्बेको दशकको अन्ततिर नोर्जाङ स्याङ्देन, केवलचन्द्र लामा, जस योञ्जन ‘प्यासी’, सञ्जीव छेत्रीहरूले फुटकर गजल विभिन्न पत्र-पत्रिकामा प्रकाशित गरे पनि उनीहरू भारतीय नेपाली गजलको उत्तरार्द्ध अर्थात्‌ विकासकालमा गजल लेख्न सक्रिय देखिएका छन्‌।
         नब्बेका दशकमा लेखिएका प्रेम प्रणयकेन्द्रित केही गजललाई छोडेर यसभन्दा अघिका प्रायैः गजल भिन्नभाव र जातीय चेतनामा आधारित छन्‌। पारसमणि प्रधानदेखि बहादुरसिंह बराल, मैतराम, मित्रसेन थापा, दुर्गा मल्ल र गङ्गावतीसम्मका गजलहरूमा एकैखाले विषयवस्तु पाइन्छन्। अशिक्षाले अन्धकारमा डुबेका गोर्खा जातिमाझ शिक्षाको ज्योति फैल्याउन अनि विकासको मार्गमा अग्रसर गराउन यी गजलकारहरूले एकैखाले स्वरमा ईश्वरसँग अनुनय-विनय गरेका छन्‌। यस चरणका केही गजलमा सामाजिक कुरीतिलाई पनि विषयवस्तु बनाइएका पाइन्छन्।


दोस्रो चरण अर्थात्‌ विकासकाल (सन्‌2000 -देखि हालसम्म)

सन्‌ 2000 सालदेखि यताको समयावधिलाई भारतीय नेपाली गजलको दोस्रो चरण अर्थात्‌ विकासकाल मान्न सकिन्छ। सन्‌ 2000 सालपछि गजल लेखनमा आएको तीब्रता, गजल सङ्ग्रहहरूको प्रकाशनले पक्रिएको जोर, गजलको विधिविधान र शास्त्रीयताप्रति देखिएको सचेतता तथा भावगत विविधतालाई आधार मानेर यो समयावधिलाई भारतीय नेपाली गजलको दोस्रो चरण अर्थात्‌ विकासकाल मानिएको हो। यसै समयावधिबाट सुसुप्त र फुटकर रूपमा रहेको भारतीय नेपाली गजलले एकपछि अर्को गरी सङ्ग्रहहरूको प्रकाशनले मौका पाएको हो भने दैनिक तथा समसामयिक पत्र-पत्रिकाहरूले गजलप्रति चासो राख्दै गीत-गजल स्तम्भ सुरु गरी मञ्च प्रदान गर्दै आएको छ, जसको फलस्वरूप गजल लेखनप्रति युवा सर्जकहरूका झुकाउ अधिक देखिएका छन्। सञ्जीव छेत्री, नोर्जाङ स्याङ्देन, जस योञ्जन ‘प्यासी’, शेखर अस्तित्व, केवलचन्द्र लामा, खुसेन्द्र राई, शैलेन्द्र समदर्शी, गोविन्द शाण्डिल्य, असीम सागर, सुवास श्रेष्ठ, वीरेन्द्र खडका, लीलाबहादुर छेत्री, बलराम सापकोटा, निर्दोषिका तामाङ, सरिता समदर्शी, डिल्लीप्रसाद अधिकारी, महेश दाहाल, मिलन बान्तवा, कर्ण विरह, दीपक ठटाल ‘जलन’, गोविन्दे, कमल रेग्मी, बुद्ध राई, धीरेन सङ्घर्ष, वासुदेव पुलामी, दीपेन्द्र आचार्य ‘सुमी’, धीरेश आचार्य, सुनील गुरुङ तमु, अनिलकुमार छेत्री, सन्तोष गुप्ता, कृष्ण पी. ठटाल, क्षेत्र ‘प्रेम’ मुखिया, दिलमान राई ‘चोट’, अरुण साम्पाङ, स्वर्णिम लिम्बू, सुरज सुब्बा, जीवीका खतिवडा, दिवस मोहरा, अर्पण राई आदि यस चरणका प्रमुख गजलकारहरू हुन्‌।
यी उल्लेखित गजलकारहरूबाहेक प्रवीण राई प्रयास, सन्तोष थापा, विदोषी काइँला, प्रदीप लोहागुन, विकास तिम्सिना, पुष्कर पराजुली, गगन राई, राजा पुनियानी, राम सुब्बा, दिलीपराज राई, मनोज शङ्कर ‘घायल’, सुवास छेत्री ‘भावुक’, रोशन राई ‘चोट’, कमला राई, कुवेर भट्टराई ‘आभाष’, कैलाश छेत्री, नवीन पौड्याल, विष्णु थापा, शक्ति बरदेवा, शङ्कर हाङ सुब्बा, पुरण गिरी, सुकुमार बराइली, विकास ‘विस्मित’, सुवास कुलुङ राई, नम्रता शर्मा ‘संस्कार’, अमिर राई ‘अभागी’, उदय थुलुङ, योगेन्द्र छेत्री, सिमरण कौर, मनोहर शर्मा आदिले पनि फुटकर गजल लेखेका छन्‌।

भारतीय नेपाली गजलका प्रवृत्तिहरू

शाब्दिक र भावार्थले गजललाई रतिरागात्मक, प्रेम प्रणयकेन्द्रित, कोमल र हार्दिक भावहरूसँग जोडे पनि अब गजल केवल शृङ्गारिक भावहरूको पेवा मात्र रहेन। समय परिवर्तनशील छ। समयको परिवर्तनसँगै साहित्यका सबै विधाको विषय क्षेत्र दिनोदिन फराकिलो बन्दै जाँदैछ। सुरुमा प्रेम प्रीतिका कुरा बोलेर राजदरबारीय ऐश्वर्य, मनोविलास र उल्लासमा रमाएको गजलले आज आम मानिसहरूले दैनिक जीवनमा भोग्दै आएका यावत्‌ विषयहरूलाई पनि व्यक्त गर्न रुचाएका देखिन्छन्। आजका गजलको सबल पक्ष भनेको विषयको विविधता हो। यो अब रतिरागात्मक प्रेमप्रणयका कुराहरूमा मात्र एकोहोरिएर सीमित मानिसहरूलाई खुसी बनाउनुपर्ने बाध्यतामा अल्झेको छैन। राजदरबारीय ऐश्वर्य मनोविलास, उल्लास र वैभव छोडेर सडकमा आएको गजलले अहिले जन-जनसँग उनीहरूका सुख-दुःख, अपुग-अभाव, जीवन भोगाइका विषमता र सङ्घर्षहरू, सामाजिक र राजनैतिक सरोकारका विषयहरूलाई सोधीखोजी ती कुराहरूलाई व्यक्त गर्न थालेका छन्।
भारतीय नेपाली गजलमा पनि हामी विषय विविधता पाउँछौँ। विषय विविधताले  भारतीय नेपाली गजललाई फराकिलो र लोकप्रिय बनाएको छ। सुरुमा शृङ्गारिक र भिन्नभाव मात्र पाइने भारतीय नेपाली गजलमा आज हामी विविध भाव पाउँछौँ। नेपाली गजलले कोरा भावुकता र प्रेमको सस्तो अभिव्यक्तिलाई मात्र प्रमुखता दिएर आफ्नो विषय क्षेत्रलाई सङ्कुचित बनाइरहेको अवस्था आज छैन। आजको भारतीय नेपाली गजलले प्रेम प्रणयकेन्द्रित शृङ्गारिक भावहरूसँगै आम नेपालीहरूले दैनिक जीवनमा भोगिरहेका यावत्‌ समस्याहरू, दुःख-सुख, हाँसो-आँसु, जीवन सङ्घर्ष-जीवन दर्शन, सामाजिक राजनैतिक सरोकारका विषयहरूलाई पनि उत्तिकै प्रमुखतासँग आफ्नो विषय बनाएको छ। समयको परिवर्तनसँगै आएको प्रवृत्तिगत फराकिलोपनले नेपाली गजललाई चर्चित र लोकप्रिय बनाएको छ। भारतीय नेपाली गजलमा पाइने प्रवृत्तिहरूलाई निम्न बुँदामा राखेर चर्चा गर्न सकिन्छ -

शृङ्गारिक भाव

गजल प्रेम प्रणयकेन्द्रित हार्दिक एवं सुललित भावहरूको अभिव्यक्ति हो। शाब्दिक अर्थले पनि गजलमा प्रेमका कुरा अभिव्यक्त हुने बताएको छ। आफ्नो जन्मकालदेखि नै गजलले प्रेम प्रणयकेन्द्रित शृङ्गारिक भावहरूलाई मूल भावको रूपमा आत्मसात गर्दै आएको छ। भारतीय नेपाली गजलले पनि शृङ्गारिक भावलाई उत्तिकै प्रमुखतासँग उठान गर्दै आएको छ। प्रेम प्रणयसम्बन्धी अनुभव र अनुभूतिको अभिव्यक्ति नै गजलमा शृङ्गारिक भाव हो। भारतीय नेपाली गजलकारहरूले आफ्ना गजलमा प्रेम प्रणयका कुराहरू, स्त्री वा प्रेमिकाका रूप रङ र चालढालको बयान, त्यससम्बन्धी भावहरूको अभिव्यक्ति, प्रेममा मिलनको खुसी र विछोडको पीडा, बयान र संवादलाई प्रमुख विषय बनाएका छन्‌। भारतीय नेपाली गजलमा सबै गजलकारले शृङ्गारिक भावलाई मूल भावको रूपमा लिइँदै आएका छन्‌। उदाहरण हेरौँ-

धन्य भो चोला मेरो तिम्रो प्रेममा मरेपछि
नजरदेखि अधरसम्म एकचोटि सरेपछि।
-विकास बान्तवा


 माटो र जाति प्रेम

भारतीय नेपाली गजलको एउटा प्रमुख प्रवृत्ति हो, माटो र जातिप्रेम। देशको मूल स्रोतबाट सधैँ किनारीकृत हुनुपर्ने र देशभित्र चिह्नारीको सङ्कट भोगिरहनुपर्ने भारतीय नेपाली साहित्यका सर्जकहरूले यसलाई मूल स्वर बनाएर आफ्नो लेखनमा उतारेका छन्‌। यसबाट गजलकारहरू पनि पर बसेका छैनन्‌। भारतीय नेपाली साहित्यमा माटो र जातिप्रेमको चेतना भनेको देशको मूलस्रोतबाट किनारीकृत भई बाँच्नपर्ने बाध्यता तथा चिह्नारी सङ्कटको समस्या र यसको कारण देशभित्र सहनुपर्ने आक्षेपलाई उठान गर्नु हो।
पछिल्ला दुईपटक गरिएका छुट्टै राज्य प्राप्तिको आन्दोलन र समय समयमा उठिरहने चिह्नारी सङ्कटको समस्यालाई भारतीय नेपाली गजलकारहरूले आफ्ना गजलमा प्रभावकारी ढङ्गमा सम्बोधन गरेका छन्‌। उनीहरूले यद्यपि, देशभित्र छुट्टै वासभूमि र चिह्नारी सुनिश्चित हुनुपर्ने अभिव्यक्तिलाई मात्र सोझो रूपमा गजलको विषय बनाएका छैनन् तर यो माग प्राप्तिको आन्दोलनलाई नेतृत्व गर्ने नेतृत्वपक्षको सत्तालोलुपता र स्वार्थलाई पनि औँल्याएका छन्‌। आन्दोलनको असफलता, विकृति र अप्राप्ति पनि आजको गजलको विषय बनेको छ।

शानसित जिउन पाउने कहिले हाम्रो माटो हुन्छ
शिखरसम्म पुग्न पाउने कहिले राम्रो बाटो हुन्छ।
-मिलन बान्तवा

सामाजिक विकृति

साहित्य समाजको दर्पण हो। यो समाज पर भएर बस्नै सक्दैन। गजल पनि साहित्यकै एउटा विधा हो। अतः यसले उठान गर्ने भावहरू समाज सम्बन्धित नै हुन्छ। राजनैतिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायत समाज विषयका सबै क्षेत्र नै आज विकृति र विसङ्गतिपूर्ण छ, जुन विषयलाई भारतीय नेपाली गजलले सशक्त ढङ्गमा उठाएको छ। विकृति र विसङ्गतिपूर्ण समाजमा जीवनयापन गर्ने मानिसहरूका व्यवहार, स्वार्थ, सोच र उनीहरूका कार्यहरूलाई गजलकारहरूले अभिव्यक्त गरेका छन्‌। मानवीय ह्रास, स्वार्थ, छलकपट, छुवाछुत, उँच नीचको भावना, दुष्कर्म, गरिबी, दुःख कष्ट, अपुग-अभाव, बेरोजगारी, आडम्बर, ढोङ आदिलाई साहित्यका अन्य विधाले झैँ गजलले पनि आफ्नो विषय बनाएको छ। भारतीय नेपाली साहित्यका सबै गजलकारहरूले यी विषयहरूलाई प्रमुखता साथ आफ्नो विषय बनाएका छन्‌। जस्तै-

चढ्नु छैन मान्छेहरू, मानवतादेखि झरेको झरेकै छ
जिउनु छैन मान्छेहरू, जीवनदेखि मरेको मरेकै छ।
-विकास विस्मित


राजनैतिक  विसङ्गति

समाजझैँ राजनीति पनि विसङ्गतिपूर्ण छ। यो अझ धेर विसङ्गतिपूर्ण छ, कम होइन। स्वार्थ, सत्तालोलुपता, हिंसा, छल-कपट, जालझेल, भ्रष्टाचार आदि राजनैतिक विसङ्गति हुन्‌। आज यो विसङ्गति सबै क्षेत्रका राजनीतिमा व्याप्त छ। यसको प्रभाव समाजमा अत्यन्त नकारात्मक छ। गजलले राजदबारीय ऐश्वर्य, विलासिता छोडेर सडकमा आएदेखि नै यसले सामाजिक र राजनैतिक सरोकारका विषयहरूलाई उठान गर्न थालेको हो।
अतः आजको गजलले राजनैतिक विसङ्गतिलाई प्रभावकारी ढङ्गमा अभिव्यक्त गर्दै आएको छ। विसङ्गत राजनीतिको सबैभन्दा बढी सिकार सामाजिक र आर्थिक क्षेत्र हुने गर्दछ। युवावर्गमा यसको नकारात्मक प्रभाव सबैभन्दा धेरै देखिन्छन्। राजनैतिक विसङ्गति भारतीय नेपाली गजलको एउटा प्रमुख प्रवृत्ति हो। राजनैतिक विसङ्गतिबाट आजका गजलकारहरू पनि नराम्रो गरी प्रभावित छन्‌। यसलाई अभिव्यक्त गर्ने उनीहरूको भाषा तिखो छ। सत्तामोह र यसका प्राप्तिका लागि गरिने हत्या-हिंसा, प्रोपगान्डा, छल-कपट, जालझेल र भ्रष्टाचार नै आजका गजलको विषय हो। जस्तै-

आन्दोलनमा लगानी गरी
पायो पैसा र सुद हजुर।
-ध्रुव चौहान

सहरीय सभ्यताप्रतिको वितृष्णा र गाउँ प्रेम

विज्ञान र प्रविधिको विकासले उच्चता प्राप्त गरेको सहरीय सभ्यताप्रति विस्तारै मानिसहरूमा वितृष्ण जाग्न थालेको छ भने आजका मानिसहरूमा गाउँ प्रेम बढ्दै गएको छ। सहरीय सभ्यता सहरमा बस्ने मानिसहरूका विकासशील जीवनशैली हो। सहरको दौडधुप, मसिनजस्तै सञ्चालित हुनुपर्ने जीवन, कोलाहल, धुवाँ, प्रदूषण, अपराध, छल-कपट, ठगी, हत्या-हिंसा, दुष्कर्म, चोरी, अविश्वास, मानवीय सम्बन्धमा ह्रास आदिजस्ता विसङ्गतिले मानिसहरू आजित भएका छन्‌। यसको विपरीत गाउँमा पाइने हरियाली, स्वच्छता, शान्त वातावरण, आदर्श, घनिष्ठता, सहृदयता र आफ्नोत्वप्रति आजका मानिसहरू अभिप्रेरित बन्दै गइरहेका छन्‌।
यी विषयहरूलाई आजका गजलले आफ्नो विषय बनाएको छ। आजको गजलले सहरीय मानिसहरूमा पाइने स्वार्थी प्रवृत्ति र संवेदनाशून्य जीवनप्रति आक्रोश र वितृष्णा प्रकट गर्नका साथै गाउँप्रति प्रेम झल्काएको पाइन्छ। जस्तै-

सहरबाट वानर बनी गाउँ खोज्दै आएँ
मान्छेभित्र मान्छेको नै भाउ खोज्दै आएँ।
-कर्ण विरह


  व्यङ्‌ग्यचेतना

समकालीन साहित्यको एउटा प्रमुख र महत्त्वपूर्ण प्रवृत्ति हो, व्यङ्‌ग्यचेतना। अतः भारतीय नेपाली गजलमा यो प्रवृत्ति अत्यन्त सशक्त र प्रभावकारी ढङ्गमा व्यक्त भएको पाइन्छ। सामाजिक र राजनैतिक विसङ्गति र विकृतिजस्तै, उँच नीचको भेदभाव र छुवाछुतको भावना, मानवीय सम्बन्धमा ह्रास, ढोङ, ठगी, बेइमानी, सत्तालोलुपता, विद्रुपता, अराजकता, सन्त्रास, भ्रष्टाचार, स्वार्थपन, जालझेल आदिप्रति भारतीय नेपाली गजलले तिखो व्यङ्‌ग्य प्रहार गरेको पाइन्छ। भारतीय नेपाली गजलकारहरूले पनि व्यङ्‌ग्य चेतनालाई आफ्ना गजलको प्रमुख विषय बनाएका छन्‌। अस्सीको दशकयता दार्जीलिङे राजनीतिमा बढेको राजनैतिक विसङ्गति र समाजमा व्यप्त विकृति, सांस्कृतिक, धार्मिक, र आर्थिक क्षेत्रमा देखिएका विषमता, विद्रुपता, कुरीति औँल्याउँदै सबै गजलकारले व्यङ्‌ग्य कसेका छन्‌। सामाजिक अव्यवस्था, अमानवीयता, कुरीति, अपसंस्कृति, सामाजिक र धार्मिक अन्धविश्वास, आडम्बर, छली र स्वार्थी प्रवृत्ति, राजनैतिक दाउपेच, अराजकता, हत्या-हिंसा, बढ्दो बेरोजगारी समस्या, यसबाट सिर्जित नकारात्मक प्रभाव, भ्रष्टाचार आदिको चित्रण प्रभावकारी रूपमा व्यङ्यात्मक ढङ्गमा गरिएको छ। जस्तै-

मैले ढोगेपछि देउता बन्यौ तिमी
ढुङ्गाले औकात बिर्सनु हुँदैन।
-शेखर अस्तित्व


प्रगतिशीलता

प्रगतिशील चेतना समकालीन नेपाली साहित्यको एउटा प्रमुख प्रवृत्ति हो। भारतीय नेपाली गजलमा पनि यो प्रवृत्ति सश्नत देखिएको छ। सामाजिक राजनैतिक बेतिथि, असमानताको विरोधमा विद्रोहको स्वर चर्को गर्नु र समाजमा सबैको समान र विकासको सपना देख्नु नै साहित्यमा प्रगतिशील प्रवृत्ति हो। भारतीय नेपाली साहित्यमा प्रगतिशील चेतनालाई पक्रेर गजल लेख्ने गजलकारहरूले विसङ्गत सामाजिक र राजनैतिक व्यवस्था, धार्मिक र सामाजिक अन्धविश्वास, भेदभाव, कुरीति, अशिक्षा असमानता आदिको विरोधमा विद्रोहको स्वर ओकालेका छन्‌। प्रगतिशील चेतनाका गजल लेख्न गजलकार कुनै वाद र राजनैतिक विचारधारासित आबद्ध हुनुपर्छ भन्ने आवश्यक कुरा होइन। सामाजिक र राजनैतिक विसङ्गति, यसले गाँजेको समाजको अवस्था, विद्यमान असमानता र अन्धविश्वास, यसबाट पीडित कुनै एक वर्ग वा समूह, अशिक्षा आदिको विरोधमा समाज र जाति विकासको पक्षमा परिवर्तनको स्वरलाई केही भारतीय नेपाली गजलकारले आफ्नो विषय बनाएका छन्‌। उदाहरण हेरौँ- 

निक्कै टाढा भो आकाश यो नजुक हुन जरुरत छ
धरतीमै भासिए हात यी आकाश छुन जरुरत छ।
-नोर्जाङ स्याङ्देन


निराशावादी स्वर

निराशावादी स्वर भारतीय नेपाली गजलको अर्को महत्त्वपूर्ण प्रवृति हो। यो प्रवृत्तिलाई भारतीय नेपाली गजलकारहरूले सशक्त ढङ्गमा व्यक्त गरेका छन्‌। युगीन पीडा, विज्ञान र प्रविधिको विकासले निम्ताएको आणविक होडबाजी, युद्ध विभीषिका, घात-प्रतिघात, अपुग अभाव, समस्या, अप्राप्ति, कुण्ठा, हतासा, वैयक्तिक पीडा, छटपटी र गुनासोहरू नै भारतीय नेपाली गजलमा निराशावादी स्वर हो। उल्लेखित कुराहरूले आजित भएर जीवन र जगत्‌लाई निराशापूर्ण र विसङ्गत देख्ने गजलकारहरूले आफ्ना गजलमा निराशावादी स्वरलाई प्रमुख विषय बनाएका छन्‌। युगीन विसङ्गति, अचाहिँदो प्रतिस्पर्धा र मानव मूल्यमा आएको ह्रासले आज सबै मानिस निराश बनेका छन्‌, उनीहरू जीवनलाई विसङ्गतिपूर्ण देख्छन्‌। आजको भारतीय नेपाली गजलमा मानव मूल्यहीनता, पलायनबोध, कुण्ठा, हताशा र मृत्युबोधका भावहरू पनि व्यक्त गरिएको पाइन्छ। आजका युवा जमात सबैभन्दा बढी यसबाट पीड़ित छन्‌। अतः युवा पुस्ताका गजलकारहरूले यसलाई प्रमुख स्वर बनाएका छन्‌। जस्तै-
न्यानोपनको आभाष कहिले चिसो बहार कहिले
जहिले पनि फाटिने त्यो ऊन रहेछ जिन्दगी।
-स्वर्णिम लिम्बू

गजलकार सुवास श्रेष्ठ

       उत्तरबङ्ग विश्वविद्यालयबाट नेपाली भाषा-साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका सुवास श्रेष्ठ भारतीय नेपाली गजलका सबैभन्दा प्रतिबद्ध गजलकार हुन्‌। गजल लेखनमा यिनको प्रतिबद्धता गजबकै र उल्लेखनीय छ। 18 दिसम्बर 1985 -मा आमा सुनिता प्रधान र पिता नारायण प्रधानको कोखबाट जन्मिएका सुवास श्रेष्ठले सन्‌ 2008 -देखि गजल लेख्न थालेका हुन्‌। यसबेला उनी कालेबुङ महाविद्यालयमा अध्ययनरत्‌ थिए्। सुवासले जुन बेला गजल लेख्न सुरु गरे, त्यसबेला कालेबुङमा गजलको चर्चा र लेखन उत्कर्षमा थियो। 
सञ्जीव छेत्री, केवलचन्द्र लामा, नोर्जाङ स्याङदेन, शैलेन्द्र समदर्शी, जस योञ्जन ‘प्यासी’, खुसेन्द्र राई, विकास बान्तवा, दीपेन्द्र आचार्य ‘सुमी’ र अन्यहरूले फुटकर रूपमा लेख्दै आएको भारतीय नेपाली गजललाई असीम सागरले चर्चित बनाइरहेका थिए। फलस्वरूप कालेबुङमा असीमकै कारण गजल लेखनले एउटा राम्रो वातावरण पाएको थियो। यो वातावरण पछि बढेर दार्जीलिङ र सिक्किमसम्म पुगेको हो। असीमले हुर्काएको गजलमय वातावरणमा उनकै सिको गर्दै सुवासले पनि गजल लेख्न सुरु गरेका हुन्‌भन्दा दुईमत नहोला। आज सुवासको गजलले भारतीय नेपाली गजल सुवासित छ।

     सङ्ख्यात्मक र गुणात्मक रूपमा राम्रा र धेरै गजल लेख्ने सुवासका हालसम्म दुईवटा संयुक्त, दुईवटा एकल र दुईवटा बाल गजल गरी कुल 6 वटा गजलसङ्ग्रह प्रकाशित छन्‌। उनको वीरेन्द्र खड्का र अनिलकुमार छेत्रीसँग संयुक्त गजलजल (2008), वीरेन्द्र खड़्‌कासँग संयुक्त गजलदीप (2009) लगायत एकल समुन्द्र रोएको साँझ (2012) र तिमी नै भनन (2014) तथा फूलबारी (2010) र रानीचरी (2013) दुई बाल गजलसङ्ग्रह प्रकाशित छन्‌। कहिले अत्यधिक चर्चा अहिले आँखी ओझेल बन्दै आएको भारतीय नेपाली गजलको भण्डारमा सुवासले यति धेरै गजलसङ्ग्रह चढाउनुले पनि उनको गजल लेखनप्रतिको मोह र प्रतिबद्धतालाई दर्शाउँदछ।


बदनाम आँखाहरू

बदनाम आँखाहरू सुवासको प्रकाशनोन्मुख गजल सङ्ग्रह हो। यस सङ्ग्रहमा कुल 95 वटा गजल सङ्गृहीत छन्‌। सङ्गृहीत गजल विविध भाव र आयामका छन्‌। सुवासले प्रेम-प्रणय केन्द्रित भावमा केही धेरै गजल लेखे पनि आम मानिसहरूले भोगिरहेका विविध समस्या तथा सामाजिक, आर्थिक र राजनैतिक सरोकारका विषयहरूबाट पर बसेका छैनन्‌। आयामका दृष्टिले सुवासले तीनदेखि सात सेरसम्म गजल लेखेका छन्‌। सङ्ग्रहमा तीन, चार र पाँच सेरका गजल धेरै छन्‌। धेरैजसो तीन सेरका गजलका मतलालाई मकतापछि दोहोर्‍याएर चार सेरका देखाएका छन्‌, जुन नेपाली गजलमा एउटा प्रचलनले बनेको छ। सुवास मात्र होइन प्रायः सबै नेपाली गजलकारले यस प्रचलनलाई जानी नजानी अघि बढ़ाउँदै आएका छन्‌। गजलको अन्तिम सेर मकता हुने र मकतापछि गजल सकिने हुनाले मकतापछि मतला पुनः राखिनु संरचनात्मक ठुलै भुल नभए पनि विधागत सचेततादेखि केही बाहिरको कुराजस्तै हो। सुवास गजलको बाह्य र आन्तरिक संरचनामा धेरै सबल र सफल गजलकार देखिन्छन्। 
गजल सिद्धान्त र समालोचनामा समेत फुटकर लेखहरू पनि लेखेर गजल लेखनमा सिकारु गजलकारहरूलाई दिशानिर्देश पनि दिँदै आएका यिनले गजलको बाह्य र आन्तरिक दुवै संरचनालाई सकेसम्म ख्याल गरेका छन्‌। काफिया र रदिफ प्रयोगमा सुवास सचेत छन्‌। सङ्ग्रहका गजलहरूमा पूर्ण र आंशिक काफिया पाइन्छन्। उदाहरण हेरौँ -  
  जुन तारा हेर्दै एकान्तमा तिमीसँग रमाए पनि
भर पर्न सकेको छुइनँ हातहरू नै समाए पनि। 
(पूर्ण काफिया)  

यति राम्रोसँग गर्नुहुन्छ सत्कार थाहै भएन
मिठो त्यो प्रशंसा हो कि प्रहार थाहै भएन।
(आंशिक काफिया)

         रदिफका दृष्टिले यिनका एउटा गजललाई छोडेर अन्य सबै गजल मुरद्दफ छन्‌। सुवासका गजल मुरद्दफ भएकै कारण लय चेतना पाइन्छ। गेयात्मकतालाई सुवासले सकेसम्म ख्याल गरेका छन्‌। लयचेतना भएकै कारण यिनका दुईवटा गजल गाइएका छन्‌। यद्यपि, सुवासका सबै गजल लयबद्ध भने छैनन्‌। गैरबहरबद्ध गजल भएको कारण केही गजलमा यिनी लय चेतनामा चुकेका छन्‌। स्वनिर्मित अर्थात्‌ स्रष्टा निर्मित लयमा सङ्ग्रहका गजलहरू आबद्ध छन्‌, जसको फलस्वरूप यति गतिमा केही गजल कमजोर देखिएका छन्‌। गजलदीप (वीरेन्द्र खड्कासँग संयुक्त) गजलसङ्ग्रहका 40 मध्ये सुरुका 10 वटा गजलमा बहरको प्रयोग गरेका सुवासले बहरमा गजल किन लेख्न छोडे होला भन्ने प्रश्न यतिबेला मेरो अघि उभेको छ। बहरको निर्वाहसँगै भावाभिव्यक्तिको कठिनाइँले पो यिनले बहरमा गजल लेख्न छोडेका हुन् कि! सोध्नु छ, कुनै दिन।
          सुवासका गजलको सबल पक्ष भनेको भावगत विविधता हो। उनले केवल प्रेम प्रणय केन्द्रित शृङ्गारिक भावमा मात्र गजल लेखेका छैनन्‌ तर आफ्ना गजलमा सामाजिक, आर्थिक र राजनैतिक सरोकारका विषय आदिलाई समान रूपमा उठाएका छन्‌। प्रेम विश्वजनीय र सार्वकालिक विषय हो तर सामाजिक, आर्थिक र राजनैतिक विषय जुन विषय आममानिसहरूसँग सम्बन्धित आजका प्रमुख विषय हुन्‌ भन्ने कुरा सुवासले राम्ररी जान्दछन्‌। अतः यी कुरालाई सुवासले आफ्ना गजलमा प्रभावकारी ढङ्गमा व्यक्त गरेका छन्‌।
     सुवासका गजलमा प्रेममा मिलनका खुसी र विछोडका पीडा अत्यधिक पाइन्छन्। यद्यपि, ती शिष्ट छन्‌। एकलापे छैन, यिनका गजलमा प्रेमाभिव्यक्ति। शृङ्गारिक भाव गजलको मातृ गुण भएकोले र सुवास युवा पुस्ताका गजलकार हुनाले पनि गजलमा शृङ्गारिक भाव केही धेरै पाइनु स्वाभाविकै हो। दुईवटा उदाहरण हेरौँ - 


फुलको पनि यहाँ व्यवहारमा बेग्लै लाली छ
हिजो आज तिम्रो अनुहारमा बेग्लै लाली छ।
आँखामा सपना, सपना र तिमी मिसाए जस्तै गरिदिन्छु
तिमी टाढिए जस्तै गर्छ्यौ म रिसाए जस्तै गरिदिन्छु।

आजको गजलमा सामाजिक विकृति, आर्थिक विषमता र राजनैतिक विसङ्गतिहरू तीव्र आक्रोश व्यक्त गरेको पाइन्छ। राजदरबारीय ऐश्वर्य मनोविलास, उल्लास र वैभाव छोडेर सडकमा आएको गजलले अहिले जन-जनसँग उनीहरूका सुख-दुःख, अपुग-अभाव, जीवन भोगाइका विषमता र सङ्घर्षहरू, सामाजिक र राजनैतिक सरोकारका विषयहरूलाई सोधीखोजी व्यक्त गर्न थालेको छ। सुवासले पनि आफ्ना गजलमा यी कुराहरूलाई सम्बोधन गरेका छन्‌। जसको फलस्वरूप यिनका गजलको विषय क्षेत्र फराकिलो बनेको छ। केही उदाहरण हेरौँ -

अन्धविश्वास भन्दै गाईको गौउँत छर्किन्छौ आफै नै
कसैले पहिले तपाईँ  नभनीकन सर्किन्छौ आफै नै।
(सामाजिक भाव)

मुद्दा आफ्नै होला अनि पहल आफ्नै होला
त्यसमाथि सपनाको महल आफ्नै होला।
(राजनैतिक भाव)

यीबाहेक सुवासका गजलमा मानवीय सम्बन्धमा ह्रास, छलकपट, जालझेल, भ्रष्टाचार, हत्या-हिंसा, प्रेममा धोखा, धार्मिक अन्धविश्वास, गाउँको विकटता र समस्या, आर्थिक विषमता, बेरोजगारी समस्या आदिप्रति चोटिलो व्यङ्‌ग्य प्रहार पाइन्छ भने गाउँ प्रेम, लोक भाका भाषा र संस्कृतिप्रति अनुराग पनि भेटिन्छ। यथा - 

धर्मको नाउँमा धलिमलि गरिराछौ
नहुने कर्म छलिछलि गरिराछौ।

पारी गाउँमा अझै पनि विकास पुगेको छैन
पैह्रोले बेघर भए मानिस निकास पुगेको छैन।

      सुवासका गजलहरू बाह्यझैँ आन्तरिक संरचनाका दृष्टिले पनि सफल देखिन्छन्‌। प्रायः 9 वर्षको गजल लेखनअवधिमा यिनका गजल लेखनले नयाँ नयाँ सम्भावना देखाएका छन्‌भने गजल मन पराउने र यसको विकास चाहनेहरूका लागि ढुक्क हुनसक्ने स्थिति सिर्जना गरेका छन्। यद्यपि, सुवासका गजलमा केही कमजोरी भने भेटिन्छन्‌। केही गजलमा आगन्तुक शब्दहरूको  अत्यधिक प्रयोगले भाषिक कृत्रिमता देखिएको छ। काफिया र रदिफबीचको तादात्म्यमा अभाव, लयभङ्गता, उक्ति वैचित्र्य र तीक्ष्ण अभिव्यक्तिको अभाव, सपाट र सोझो अभिव्यक्ति आदि सुवासका गजलमा पाइने ससाना कमजोरीहरू हुन्‌, जुन कमजोरीलाई सुवासले प्रतिबद्धताले आउँदो दिनमा सहजै जित्नेछ। यति कुरा म ढुक्कसँग भन्नसक्छु। सुवासको गजल लेखनबारे यति कुरा लेखेपछि एउटा कुरा भनिहाल्न मन लाग्यो, त्यो के हो भने सुवासको गजल लेखनको ग्राफ सधैँ ‘अप एन्ड डाउन’ देखिँदै आएको छ। गजलदीप (सन्‌2010) - मा सङ्गृहीत गजलहरूको तुलनामा समुन्द्र रोएको साँझ (2010) र तिमी नै भनन (2012) - मा सङ्गृहीत गजलहरू केही कमजोर र साधारण पाइन्छन्‌। यसपटक सुवासले यस कुरालाई ध्यानका राखेर आफ्नो गजल लेखनको ग्राफलाई सकेसम्म माथि उकास्ने प्रचेष्टा गरेका छन्‌।    

शीर्षक सम्बन्धमा

‘दाजु गजल सङ्ग्रहको नाम बदनाम आँखाहरू है।’ भूमिकाका लागि पाण्डुलिपि पठाइसकेको प्रायः दुई सातापछि सुवासले सम्झायो। इमानदारितापूर्वक भन्नुपर्दा यो दुई साताको अवधिभित्र मैले सुवासका गजल न पढ्न भ्याएको थिएँ, न भूमिका लेख्न नै सुरु गरेको थिएँ। बदनाम आँखाहरू दृष्टि दोष बुझाउने (?) शीर्षक नै सुवासले किन रुचायो, केही क्षण सोचेँ। अहिले पनि यसबारे अनभिज्ञ नै छु। सङ्‌ग्रहका गजलमा प्रेममा विछोडका पीडा अत्यधिक पाइने हुनाले अथवा सामाजिक, आर्थिक र राजनैतिक विकृति विसङ्गति र विषमताप्रति चोटिलो व्यङ्‌ग्य प्रहार गरिएकाले नकारात्मक अर्थ दिने यो शीर्षक राखिएको होला। एक प्रकारले मेरो यो लख छ। उसै पनि तथाकथित्‌ समाजको परम्परागत आँखामा नैतिकतादेखि मुनि रहेका सुरा सुन्दरीका बयानलाई गजलकारहरूले इमानदारितापूर्वक सम्बोधन गर्ने गर्छन्‌, जुन सभ्य भनी टोपल्नेरूका लागि अपच्य नै हो। ‘बदनाम आँखा’ मात्र लेखिएको भए पनि हुनेथियो। आँखा आफैमा बहुवचन भएकोला ‘हरू’ नलेखिएको भए पनि हुने हो तर सुवासले सङ्ग्रहका गजलहरूको मर्मलाई अझ जोरसँग बुझाउन यहाँ ‘हरू’ थपेका छन्‌। सामाजिक, आर्थिक र राजनैतिक सरोकारका अमेल कुराहरू, प्रेममा छलकपट, धोखा, मानवीय सम्बन्धमा ह्रास, स्वार्थ आदिलाई नियाल्दा दृष्टि दोष पाइएका (?) सुवासका गजलहरू उनका नितान्त वैयक्तिक अनुभव र अभिव्यक्ति मात्र होइनन्‌। गजल मन पराउनेहरूले यी अनुभव र अभिव्यक्तिलाई साझा गर्न सक्छन्‌।


अन्त्यमा महत्त्वपूर्ण कुरा

कुनै समय भारतेली नेपाली गजल लेखनको केन्द्र बनेको कालेबुङमा अहिले गजल लेखन शून्यप्रायः छ। सन्‌ 2007 -देखि 2010 सम्म कालेबुङको साहित्यिक वातावरण गजलमय थियो। असीम सागरले कालेबुङमा हुर्काएको गजल लेखनमा सुवास श्रेष्ठ, वीरेन्द्र खड्का, अनिलकुमार छेत्री, लीलाबहादुर छेत्री, छुदेन काविमो, सरिता समदर्शी, अरूण साम्पाङ, सुरज सुब्बा, धीरेन सङ्घर्ष र सुषमा निर्दोषिकाहरू सक्रिय थिए। केहीपछि अर्पण सोङदेल र बलराम राईहरू थपिए। तर असीम सागर नेपाल फर्किएपछि कालेबुङे गजल लेखनमा सुस्तता आयो। अहिले सुवासले मात्र धुम्धुम्ती एकोहोरिएर गजल लेखिरहेका छन्‌। अन्य कतिले विधा फेरेका छन्‌। कति मौन बसेका छन्‌। गजल लेखनले चिनिएका छुदेन काविमोले कथामा हात बसाएपछि गजल लेख्नै छोडे। अनिकुमार छेत्री, अरूण साम्पाङहरू मौन बसेका छन्‌। सरिताले फुटकर गजल लेखिरहे पनि सङ्ग्रह प्रकाशनमा चासो देखाएकी छैनन्‌। लीलाबहादुर छेत्री गद्य लेखनप्रति आकृष्ट देखिएका छन्‌। बुद्ध राई संयुक्त गजलसङ्ग्रह गजल महक प्रकाशित भएलगत्तै हराए। अर्पण सोङदेल, सुरज सुब्बा र धीरेन सङ्घर्षहरूले गजल लेख्नै छोडे।  

कालेबुङमा गजल लेखन शून्यप्रायः हुँदै गएको यस्तो स्थितिमा गजल लेखनमा सुवासको प्रतिबद्धता उल्लेखनीय छ। अब कालेबुङमा गजल लेखनलाई संस्थागत गर्न र पहिलाकै केन्द्रमा फर्काउन सुवासले ठोस केही गर्नै पर्नेछ, हामी गजल मन पराउनेहरूका अपेक्षा यिनीसँग यति छ। हामी यसका लागि सुवाससँग आसे छौँ। सुवासले हाम्रा आशा र अपेक्षा बुझिदिउन्‌। र भारतेली नेपाली गजललाई स्तरीयतासँग माथि उकास्न र लोकप्रिय बनाउन निरन्तर कार्य गरिरहुन्‌। शुभम्‌।

सन्दर्भ सूची
1. अनाममण्डली, नेपाली गजलको विकास र वर्तमान, मोती जयन्ती, वि.सं. 2064, काठमाडौँ, नेपाल।
2. उदासी, टीकाराम, गजल सिद्धान्त र नेपाली गजलको इतिहास, साउन 2059, अतिर्नित प्रकाशन, दाङ, नेपाल।
3. बराल, कृष्णहरि, साझा प्रकाशन, वि.सं. 2064, ललितपुर, काठमाडौँ नेपाल।
4. समदर्शी, शैलेन्द्र, गजल : सिद्धान्त र सिर्जनावलोकन, 2010 (प्र.सं.) सम प्रकाशन, तीनधारे, दार्जीलिङ।

हिन्दी
1. अस्थाना रोहिताश्व, हिन्दी गजल : उद्‌भव और विकास, सन्‌1987, भूमिका प्रकाशन, दिल्ली।
2. नदीम, नरेश, उर्दु कविता और छन्दशास्त्र, सन्‌1999, सारांश प्रकाशन, दिल्ली।  













Comments

Popular posts from this blog

भानु र पाला-1, 2, 3 : रङ्गमञ्चीय अध्ययन

सञ्जय विष्ट